Thursday, 5 September 2013

रोजगारीमा जाने महिलाको संख्या बढ्दै

रोजगारीमा जाने महिलाको संख्या बढ्दै

baideshik rojagarइलाम, १९ भदौ । स्थानीय तहमा रोजगारीको अवसर नपाउँदा र घरखर्च चलाउने आयस्रोत नहुँदा विदेशिने महिलाको संख्या बढ्दै गएको छ । बढ्दो बेरोजगारीका कारण यहाँका महिला धेरै कमाउने सपना बुनेर खाडी राष्ट्र जाने गरेका छन् । आमचोक–५ की सुस्मिता राई पैसा कमाउनका लागि विदेश जाने तयारीमा हुनुहुन्छ । राहदानी बनाउन आएकी सुस्मिताले गाउँमा केही गरौँ भने छैन, आम्दानीको अरू बाटो नभएकाले विदेश जान लागेको बताउनुभयो ।
पुर्वाझुवा–३ की तुलादेवी थापा राहदानी बनाएर विदेश हिँड्न तयारीमा हुनुहुन्छ । घरमा आर्थिक अभाव र आम्दानीको अन्य स्रोत नभएकाले बाहिरी देश जानुपरेको उहाँले बाध्यता सुनाउनुभयो । घरमा थन्किएर बस्नुभन्दा विदेश गएर पैसा कमाउँदा परिवारको गुजारा चलाउन सजिलो हुन्छ भन्ने बुझेर विदेशिन लागेको उहाँको भनाइ छ । इजरायल र कोरिया जाने महिलाले मासिक रु ५० हजारदेखि एक लाखसम्म कमाउने गरेका छन् ।
धेरै महिला अहिले आर्थिक अभाव र परिवार चलाउनका लागि भएपनि इजरायल, मलेसिया, कतार, कुवेत, साउदी अरबलगायत देशमा काम गर्न जाने गरेका छन् । अविवाहित कतिपय महिला रहरले पनि विदेश गएका हुन्छन् तर विवाहित भने घरपरिवार चलाउन विदेश जाने भन्दै राहदानी बनाउन आउने गरेको जिल्ला प्रशासन कार्यालय इलामका राहदानी फाँटका नायव सुब्बा विनोदबाबु विसीले बताउनुभयो ।
यहाँबाट गत साउन महिनामा ७२ महिलाले राहदानी बनाएका छन् । यस्तै भदौ महिनाको १७ सम्ममा ३२ महिलाले राहदानीका लागि प्रशासनमा निवेदन दिएका छन् । राहदानी वितरणबाट चालु आबको डेढ महिनामा रू ५४ लाख ९५ हजार राजस्व सङ्कलन भएको छ ।
जिल्लाको बाँझो, चुलाचुली, महमाई, आमचोक, पुर्वामझुवा गाविसका महिला बढी विदेशिएका छन् । विदेश जानेमा सबैभन्दा बढी आदिवासी जनजाति महिला बढी रहेको प्रशासनले जनाएको छ । राहदानी बनाउनेमध्ये दैनिक १०/१५ जना महिना नै हुन्छन्, विगतको तुलनामा महिलाको सङ्ख्या पनि थपिँदै गएको विसीले बताउनुभयो ।
विसं २०६८ कात्तिक २५ देखि जिल्ला प्रशासन कार्यालय इलामबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण हुन् थालेको हो । एमआरपी वितरण सुरू गरेयता प्रशासनबाट नौ हजार ६१ जनाले लिइसकेका छन् ।
जिल्लाबाट हालसम्म २१ हजार ४०० भन्दा बढी युवायुवती विदेशिएको एक तथ्याङ्कले देखाएको छ 

No comments:

Post a Comment