Friday, 6 September 2013

बालविवाहका घटना बढ्न थालेपछि विद्यालय हाताभित्र मोबाइल प्रयोगमा रोक

बालविवाहका घटना बढ्न थालेपछि विद्यालय हाताभित्र मोबाइल प्रयोगमा रोक

mobileकालीकोट, २१ भदौ । विद्यालयमा मोबाइल प्रयोगका कारण बालविवाहका घटना बढ्न थालेपछि जिल्ला शिक्षा कार्यालय कालीकोटले विद्यार्थीलाई विद्यालय हाताभित्र मोबाइल प्रयोग गर्न निषेध गरेको छ । जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले जिल्लाका कुनै पनि निमावि र मावि तहका विद्यार्थीले पठनपाठनको समयमा विद्यालय हाताभित्र मोबाइल प्रयोग गरेमा जफत गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई निर्देशन दिएको बताउनुभएको छ ।
उहाँका अनुसार जिल्लामा पछिल्लो समयमा निमावि र मावि तहका विद्यार्थीले र विद्यालय हाताभित्र मात्र नभई कक्षाकोठामा समेत मोबाइल प्रयोग गर्ने गरेको आवाज उठ्न थालेको थियो । यसअघि पनि विभिन्न विद्यालयले आचारसंहिता बनाई मोबाइल प्रयोगमा रोक लगाए पनि  विद्यार्थीले बेवास्ता गरेका थिए । यस पटक जिल्ला शिक्षा कार्यलयले समेत निर्देशन दिएकाले कार्यान्वयन हुने वा नहुने भन्ने कुरा हेर्न बाँकी रहेको अभिभावकले बताएका छन्  ।
अभिभावकले आफ्ना छोराछोरीलाई रहरका लागि मोबायल किनिदिने प्रचलन बढेको छ । तर यसको नियन्त्रणमा भने ध्यान नदिँदा भविष्यमा ठूलै समस्या आउने देखिन्छ । अभिभावकहरु आफ्ना बालबालिकाको पढाइका बारेमा बुझ्न विद्यालयमा कहिले पनि नआएका शिक्षकहरु बताउँछन् ।
नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष देवराज चौलागार्इंले शिक्षा क्षेत्रको समग्र अवस्थाका बारेमा शिक्षक मात्र होइन अभिभावक र सरोकारवाला निकायले गम्भीर रुपले सोच्न आवश्यक छ भन्दै शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको बताउनुभयो ।

No comments:

Post a Comment